वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य विषयमा अध्ययन गर्न विभागका निर्देशकको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरी काम सुरु गरेको छ । पछिल्ला केही दिनयता बजारमा चिनीको भाउ अत्यधिक वृद्धि भएपछि विभागले चिनीको मूल्य अध्ययनका लागि समिति गठन गरेर काम सुरु गरेको हो ।
विभागका महानिर्देशक तीर्थराज चिलवाल चिनीको मूल्य अध्ययन गर्न गठित समितिले काम सुरु गरेकाले यही साताभित्र चिनीको मूल्य वृद्धि कुन तहमा भएको भन्ने कारणसहित आउने जानकारी दिए । उनका अनुसार अध्ययन समितिले अध्ययनका क्रममा चिनीको उत्पादन लागत मूल्य, थोक मूल्य, खुद्रा मूल्यको विश्लेषण गरेर कुन तहमा भाउ महँगिएको हो सबै हेरेर प्रतिवेदन तयार गर्ने छ ।
सो समितिले नेपालमा उत्पादित चिनीको मात्रै नभएर आयात भएको चिनी कति लागतमा कुन भन्सारबाट कुन मितिमा भित्रियो भन्ने सबै विवरण उपलब्ध गराउने छ । यसबाहेक बजारमा चिनीको माग, आपूर्ति र उपलब्धता सबै यथार्थ तथ्याङ्क पनि प्रतिवेदनमा समावेश गरिने छ । अध्ययन समितिको प्रतिवेदन आएपछि बजारमा चिनी महँगो हुनेको वास्तविक अवस्था सबै जानकारी हुने विभागका महानिर्देशक चिलवालले जानकारी दिए ।














