सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु, एक घाइते

Image

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको हो । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका हुन् । अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले घटनाबारे थप जानकारी संकलन गर्ने काम भइरहेको बताएका छन् ।

दुर्घटनाको विस्तृत विवरण तथा क्षतिको अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।