भीमफेदी माइक्रोबस दुर्घटनाका मृतक परिवारलाई चक्रघट्टा गाउँपालिकाले ५० हजार दिने

Image

मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।

गाउँपालिकाले दुर्घटनामा मृत्यु भएका प्रत्येक व्यक्तिका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो । दुर्घटनामा एक गर्भवती महिलासहित १३ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले शुक्रबार गाउँपालिका क्षेत्रभित्र एक दिनका लागि शोक बिदासमेत दिएको छ ।

गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा बिहीबार जारी सूचनाअनुसार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाबाहेक नियमित सेवा प्रवाह हुने कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयलगायत गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा शोक बिदा दिइएको हो ।

यद्यपि, शोक बिदाका दिन स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

दुर्घटनामा गाउँकै १३ जनाको ज्यान गएपछि चक्रघट्टा गाउँपालिका शोकमा डुबेको छ ।