प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग छलफल गरेका छन् ।
शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा चीन भ्रमणको तयारी, भ्रमणका एजेन्डा तथा नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री बालेनले नेपाल र चीनबीच विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै यसलाई थप मजबुत बनाउन यस भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
व्यापार तथा व्यवसाय, प्रविधि, पर्यटन, कृषिलगायत क्षेत्रमा चीनसँग सहकार्य विस्तार गरी नेपालले अधिकतम लाभ लिनुपर्ने प्रधानमन्त्रीको जोड रहेको उनले बताए ।
प्रधानान्त्री शाहले दुई देशबीचको कूटनीतिक सम्बन्ध, आर्थिक साझेदारी र विकासका सम्भावनासँग जोडिएको भन्दै भ्रमण केवल पर्यटकीय घुमघाममा मात्र सीमित हुन नहुने बताए ।
चीनको प्रविधि, आर्थिक विकास र विभिन्न क्षेत्रमा हासिल गरेको अनुभवबाट नेपालले लाभ लिन सक्ने सम्भावनालाई भ्रमणका क्रममा प्राथमिकतामा राख्न निर्देशन दिएका बुर्लाकोटीले जानकारी दिए ।
रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय संसदीय प्रतिनिधिमण्डल आगामी आइतबार चीन प्रस्थान गर्ने कार्यक्रम छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा प्रतिनिधिमण्डलले बेइजिङ, हाङचोउ र सिचुवानलगायत स्थानको भ्रमण गर्नेछ ।
भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सरकारी सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा नेपाल–चीन सम्बन्धका विविध पक्षमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।















