भारतको हवाई सेवा प्रदायक कम्पनी स्पाइसजेटको आर्थिक संकटका कारण दुबई विमानस्थलबाट चारवटा उडान रद्द भएका छन् । बक्यौता रकम भुक्तानी नगरेपछि भूमिस्थ सेवा प्रदायक कम्पनी डीएनएटाले स्पाइसजेटको यात्रु दर्ता सेवा रोकेको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार स्पाइसजेटले डीएनएटालाई १ करोड ४० लाख दिरहमभन्दा बढी रकम तिर्न बाँकी छ । सेवा रोकिएपछि बिहीबार दुबईबाट कम्पनीका दुईवटा उडानले मात्रै उडान अनुमति पाएका थिए । यद्यपि, सेवा अवरोध नोभेम्बर १२ सम्म मात्र रहेको जनाइएको छ ।
उडान प्रभावित भएपछि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले पनि स्पाइसजेटका यात्रुलाई सचेत गराएको छ । यात्रालाई निस्कनुअघि कम्पनीको आधिकारिक माध्यमबाट उडानको अवस्था जाँच गर्न विमानस्थलले आग्रह गरेको छ । नोभेम्बरको सुरुदेखि कम्पनीले दैनिक १५ देखि २० वटासम्म उडान रद्द गरिरहेको समाचारमा उल्लेख छ ।
आर्थिक समस्याका कारण कम्पनीसँग अहिले करिब १२ वटा विमान मात्रै उडानका लागि उपलब्ध रहेको र तीनवटा विमान भाडा भुक्तानीसम्बन्धी विवादका कारण थन्किएको जनाइएको छ । विमान भाडामा दिने कम्पनी, इन्धन आपूर्तिकर्ता, विमानस्थल सञ्चालक तथा अन्य सेवा प्रदायकलाई समेत कम्पनीले रकम तिर्न बाँकी रहेको बताइएको छ ।
कम्पनीका कर्मचारीले सन् २०२६ जुनदेखि तलब नपाएको समाचारमा उल्लेख छ । सन् २०२५ सेप्टेम्बरमा समाप्त भएको त्रैमासिक अवधिमा स्पाइसजेटको खुद घाटा ६२१ करोड भारतीय रुपैयाँ पुगेको थियो । अघिल्लो वर्ष सोही अवधिमा घाटा ४५८ करोड रुपैयाँ रहेको थियो भने कम्पनीको आम्दानी १३.४ प्रतिशतले घटेर ७९२ करोड रुपैयाँमा सीमित भएको थियो ।
स्पाइसजेटका अनुसार नोभेम्बर १८ मा बस्ने सञ्चालक समितिको बैठकले इक्विटी सेयर, प्रिफरेन्स सेयरलगायतका माध्यमबाट नयाँ पुँजी जुटाउने प्रस्तावमाथि छलफल गरी निर्णय गर्नेछ। कम्पनीका स्रोतलाई उद्धृत गर्दै दुई लगानीकर्ता स्पाइसजेटमा लगानी गर्न इच्छुक रहेको दाबी गरिएको छ। तर लगानी प्रक्रिया सफल हुने वा कम्पनीको स्वामित्व तथा व्यवस्थापन परिवर्तन हुने विषय भने निश्चित भइसकेको छैन।














