सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिमले तेस्रो प्रयासमा पहिलो पटक उपाधि जित्न सफल भएको हो । सुदूरपश्चिमले फाइनलमा लुम्बिनीलाई १० विकेटले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी घोषित भए । उनले प्रतियोगितामा तीन अर्धशतकसहित २१८ रन बनाउनुका साथै ६ विकेटसमेत लिएका थिए । ऐरीले यस विधामा पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । रेड बुल इनर्जेटिक प्लेयरको अवार्ड चितवन राइनोजका श्रीलंकाली ब्याटर कमिल मिश्राले जिते । उनले दुई लाख रुपैयाँ पुरस्कार पाए ।
यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर विराटनगर किंग्सका लोकेश बम घोषित भए । उनले प्रतियोगितामा सर्वाधिक २४२ रन बनाएका थिए । बमले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे ।
जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले इमर्जिङ प्लेयरको अवार्ड जिते । उनले पनि पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे । फाइनल खेलमा सुदूरपश्चिमलाई १० विकेटको जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका जर्ज मन्से प्लेयर अफ द म्याच घोषित भए । उपाधि जित्न नसके पनि लुम्बिनी लायन्सले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेको छ ।
















