एनपीएलमा रिजन ढकालको चमक, सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित

Image

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ढकालले सर्वाधिक १७ विकेट लिँदै यो उपलब्धि हासिल गरेका हुन् । चितवन राइनोज प्लेअफसम्म पुगेर तेस्रो स्थानमा सीमित भए पनि व्यक्तिगत प्रदर्शनका आधारमा ढकालले प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीको अवार्ड जित्न सफल भए ।

सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएसँगै उनले ओमोडा एन्ड जाएको कार पुरस्कार प्राप्त गरेका छन् । ढकालले प्रतियोगिताको उत्कृष्ट बलरको अवार्डसमेत जितेका छन् । उक्त विधामा उनले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे ।

एनपीएलको तेस्रो संस्करणमा ढकालको प्रदर्शन बलिङतर्फ निकै प्रभावशाली रह्यो । सर्वाधिक विकेट लिँदै उनले प्रतियोगितामा आफ्नो क्षमता प्रमाणित गरेका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिमले तेस्रो प्रयासमा पहिलो पटक उपाधि जित्न सफल भएको हो । सुदूरपश्चिमले फाइनलमा लुम्बिनीलाई १० विकेटले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो ।