एमाले बागमती अध्यक्षमा केशव पाण्डेले लिए उम्मेदवारी फिर्ता

नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । सकेसम्म सर्वसम्मतको प्रयास गर्ने भन्दै उनले उम्मेदवारी फिर्ता लिए पनि अन्य उम्मेदवारले भने आफ्नो आकांक्षा कायमै राखेका छन् ।

एमाले बागमती प्रदेश अध्यक्षका लागि वर्तमान अध्यक्ष पाण्डेसहित पूर्वसांसद कृष्ण दाहाल, पूर्व प्रदेशमन्त्री कैलाश ढुंगेल, पूर्व प्रदेश सभामुख सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारको सूची प्रकाशित गर्दा पाण्डेको नाम छैन । एमाले नेता रामेश्वर फुयालले पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी देशसञ्चारसँग गराए।

पाण्डेले आफूलाई सर्वसम्मत रुपमा अर्को कार्यकालका लागि छाड्न आग्रह गरे पनि चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

मतदान साँझ ६ बजेबाट सुरू हुने कार्यतालिका सार्वजनिक गरिएको छ । मतदान सकिएपछि आजै राति मतगणना हुनेछ ।