युक्रेनमा रुसी हवाई आक्रमण : १४ जनाको मृत्यु, १५ भन्दा बढी घाइते

Image

युक्रेनको राजधानी किएभ आसपासका क्षेत्रमा रुसले गरेको हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन्।

आक्रमणका कारण आवासीय भवनहरूमा क्षति पुगेको छ। भत्किएका भवनका भग्नावशेषमा पुरिएका मानिसको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र उद्धारकर्मी परिचालन गरिएको छ।

किएभबाट करिब ४५ किलोमिटर उत्तरमा रहेको डायमरमा पाँचतले आवासीय भवनको एक भाग भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारी तिमुर ताकाचेन्कोले जानकारी दिएका छन्।

त्यस्तै, भिश्नेभस्थित एक सुपरमार्केटमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित १५ जना घाइते भएका छन्। बिला सेरक्वामा एक निजी आवासमा भएको आक्रमणमा थप एक जनाको मृत्यु भएको छ।

युक्रेनको राज्य आपत्कालीन सेवाका अनुसार डायमरमा मृत्यु हुनेमा एक किशोरी र ४० वर्षीया महिला पनि छन्। उद्धारकर्मीले ७९ वर्षीया महिला र एक बालकसहित केही व्यक्तिलाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन्। भग्नावशेषमा पुरिएका तथा सम्पर्कविहीन व्यक्तिको खोजी जारी रहेको जनाइएको छ।

यसैबीच, रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई समेत निशाना बनाउँदै आक्रमण तीव्र पारेको छ। ड्निप्रोपेट्रोभस्क क्षेत्रस्थित विद्युत् सबस्टेसनमा पनि रुसी आक्रमण भएको प्रधानमन्त्री सेर्गी कोरेत्स्कीले बताएका छन्। जाडोयाम नजिकिँदै गर्दा ऊर्जा संरचनामाथि भइरहेका आक्रमणले युक्रेनको विद्युत् आपूर्ति र जनजीवन थप प्रभावित हुने चिन्ता बढाएको छ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमिया पुलमा युक्रेनले गरेको आक्रमणको जवाफ अझ पीडादायी हुने चेतावनी दिएका थिए। युक्रेनले एक साताभित्र उक्त पुलमा तीन पटक आक्रमण गर्दा सवारी आवागमनका लागि प्रयोग हुने भागमा क्षति पुग्नुका साथै रेल सेवा अवरुद्ध भएको जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शिखर बैठकपछि पुटिनको यस्तो चेतावनी आएको हो। उक्त बैठकमा युक्रेन र युरोपेली नेताहरूलाई सहभागी नगराइएकाले युद्धसम्बन्धी निर्णयमा उनीहरूको भूमिका कमजोर पारिन सक्ने आशङ्का व्यक्त गरिएको छ।