व्यवसायको लागत बढाउने र असान्दर्भिक पुराना कानुन खारेज गरिँदै : मन्त्री गौतम

Image
????????, ? ??????? ???? ??????? ?????? ??????????? ????? ?????? ?????, ????? ??? ?????? ?????? ??????? ?????? ???? ? ??????? ?????÷????

सरकारले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने र व्यवसाय सञ्चालनको लागत बढाउने असान्दर्भिक पुराना कानुन खारेज तथा संशोधनको प्रक्रिया अघि बढाएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको छलफलमा यस्तो जानकारी दिएकी हुन्।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भएको विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले वर्तमान आर्थिक तथा व्यावसायिक परिवेशसँग मेल नखाने, अनावश्यक नियन्त्रणमुखी र कार्यान्वयनमा दुरुपयोग हुन सक्ने कानुन हटाउन लागिएको बताइन्।

उनका अनुसार उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदन तथा ‘आर्थिक सुधारको मार्गचित्र, २०८१’ ले दिएका सुझावका आधारमा पुराना र असान्दर्भिक कानुन खारेज गर्न लागिएको हो। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा पनि यस्ता कानुन खारेज गर्ने प्रतिबद्धता जनाएको थियो।

विधेयकमार्फत प्रादेशिक विकास आयोजना कार्यान्वयन ऐन, २०१३, नेपाल मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ र वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५ खारेज गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७० पनि खारेज गर्ने प्रस्ताव छ।

यसैगरी, मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०८२ संशोधन गर्न प्रस्ताव गरिएको मन्त्री गौतमले जानकारी दिइन्।

‘नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन अप्ठ्यारा कहाँ छन् भन्ने कुरा फुकाउँदै जाने क्रममा पहिचान गरिएका र खारेज गर्नुपर्ने विषय सरकारले प्रस्ताव गरेको हो’, उनले भनिन्, ‘यसमा थप विषय रहेछन् भने छलफल गर्न खुला छौँ।’

समितिको बैठकमा सम्बन्धित मन्त्रीको उपस्थितिलाई लिएर सदस्यहरूले ध्यानाकर्षण गराएपछि सभापति डा. कृष्णहरि बुढाथोकीले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए।