सडक क्षेत्रका अतिक्रमित संरचना हटाउन खडक नगरपालिकाको ३ दिने अल्टिमेटम

Image

सप्तरीको खडक नगरपालिकाले कल्याणपुर–वनौली सडक खण्डको क्षेत्राधिकारभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन सम्बन्धित व्यक्तिलाई तीन दिनको अल्टिमेटम दिएको छ ।

नगरपालिकाले मंसिर ७ गते सार्वजनिक सूचना जारी गर्दै सडकको दायाँबायाँ रहेका सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा, पसल, छाप्रो, घेराबेरा तथा थुपारिएका निर्माण सामग्री र अन्य सरसामान हटाउन अन्तिम पटक आग्रह गरेको हो ।

नगरपालिकाका अनुसार यसअघि पनि पटक–पटक सूचना प्रकाशित गरी सार्वजनिक जग्गा खाली गर्न आग्रह गरिए पनि सम्बन्धित व्यक्तिहरूले बेवास्ता गर्दै आएका छन् । त्यसैले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आफैं संरचना तथा सामग्री हटाई सार्वजनिक जग्गा खाली गर्न निर्देशन दिइएको छ ।

तोकिएको समयसीमाभित्र अतिक्रमित संरचना तथा सामग्री नहटाए प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया पूरा गरी नगरपालिकाले आफैं हटाउने सूचनामा उल्लेख गरिएको छ ।

कल्याणपुरदेखि फुलबरिया गाउँसम्मको उक्त सडक खण्ड कालोपत्र गर्ने काम सडक डिभिजन कार्यालय लहानले गरेको हो । सडकको क्षेत्राधिकारभित्र रहेका अनधिकृत संरचनाका कारण सडक विस्तार, आवागमन र सार्वजनिक जग्गाको उचित उपयोगमा समस्या उत्पन्न हुन सक्ने भन्दै नगरपालिकाले अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

नगरपालिकाको यस कदमसँगै सडक क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियान अघि बढ्ने अपेक्षा गरिएको छ ।