जेनजी आन्दोलनका मुद्दा छानबिन, क्षतिपूर्ति र परिपूरण आयोग गठन गर्न अध्यादेश सिफारिस

Image

सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन, पीडितलाई क्षतिपूर्ति तथा परिपूरण उपलब्ध गराउन आयोग गठन गर्ने भएको छ ।

यसका लागि सरकारले अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्ले आयोग गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सरकारले आन्दोलनका क्रममा भएका घटनाबाट पीडित व्यक्ति तथा परिवारलाई न्याय, क्षतिपूर्ति र उचित परिपूरण उपलब्ध गराउने उद्देश्यले अध्यादेश ल्याउने निर्णय गरेको जनाएको छ ।

एक मन्त्रीका अनुसार अध्यादेशले आन्दोलनका घटनासँग सम्बन्धित मुद्दाहरूको थप छानबिन गर्ने, पीडित र सम्बन्धित पक्षबीच मेलमिलापको वातावरण बनाउने तथा क्षति पुगेकालाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्नेछ ।

त्यस्तै, गम्भीर अपराधबाहेकका मुद्दालाई छिटो र व्यवस्थित रूपमा टुङ्ग्याउने कानुनी आधारसमेत अध्यादेशले तयार गर्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जेनजी आन्दोलनमा सहभागी भएकै कारण कतिपय व्यक्ति मुद्दा खेप्न बाध्य भएको भन्दै उनीहरूको रिहाइको माग गर्दै आएका थिए । आन्दोलनसँग सम्बन्धित मुद्दामा परेकाहरूलाई न्यायोचित ढंगले सम्बोधन गर्नुपर्ने उनीहरूको माग रहँदै आएको थियो ।