बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा गरेकी छन् । तर, मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकाले स्वदेश फर्किए उनी पक्राउ पर्ने सम्भावना छ ।
विद्यार्थी नेतृत्वको जनविद्रोहपछि १५ वर्ष लामो शासन अन्त्य भएपछि हसिना सन् २०२४ अगस्ट ५ मा बङ्गलादेश छाडेर भारत गएकी थिइन् । प्रदर्शनका क्रममा सयौँ मानिसको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनीमाथि मुद्दा चलाइएको थियो । अदालतले सुनाएको मृत्युदण्डको फैसला अस्वीकार गर्दै आएकी हसिनाले स्वदेश फर्किएर कानुनी लडाइँ लड्ने बताएकी छन् ।
हसिनाको स्वदेश फिर्तीको घोषणासँगै बङ्गलादेश सरकारले भने उनलाई पक्राउ गर्ने आफ्नो अडान दोहोर्याएको छ । प्रधानमन्त्री तारिक रहमानका प्रेस सचिव अबु अब्दुल्लाह एम सालेहले हसिना दोषी ठहर भइसकेको र उनलाई सुपुर्दगी गर्न भारतसँग आग्रह गरिसकिएको बताएका छन्। सरकारले यस विषयमा आफ्नो अडान परिवर्तन नगर्ने उनको भनाइ छ ।
मङ्गलबार हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गर्दै प्रधानमन्त्री रहमानलाई भारतको राजधानी नयाँदिल्लीबाट ढाकासम्म राष्ट्रिय ध्वजावाहक विमानको व्यवस्था मिलाउन आग्रह गरेकी छन् । उनका प्रवक्ता सैयद मोजाम्मेल अलीले सन् २०२४ अगस्ट ५ मा बङ्गलादेशी विमानबाट भारत गएकाले फर्कने यात्राको व्यवस्था पनि सरकारले गर्नुपर्ने बताए ।
डिसेम्बर १६ बङ्गलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि स्वतन्त्र भएको सम्झनामा यो दिवस मनाइन्छ । हसिनाका सहयोगी अबु ओबैदा अरिनका अनुसार उनले आफ्ना पिता तथा बङ्गलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानको नेतृत्वमा प्राप्त ऐतिहासिक विजयको सम्मान गर्दै यही दिन स्वदेश फर्कने निर्णय गरेकी हुन् । हसिनाको पुनरागमनले देशलाई शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढाउने विश्वाससमेत उनले व्यक्त गरेकी छन् ।
यस महिनाको सुरुमा एसोसिएटेड प्रेस (एपी) सँगको अन्तर्वार्तामा हसिनाले कुनै पनि अवस्थामा डिसेम्बरभित्र स्वदेश फर्कने बताएकी थिइन् । मृत्युसमेतले आफूलाई घर फर्कनबाट रोक्न नसक्ने उनको भनाइ थियो ।
यसअघि एक अभियोजकले हसिनाले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्ने समयसीमा गुमाइसकेको र सजाय कार्यान्वयन रोक्ने कानुनी आधार नरहेको बताएका थिए। बङ्गलादेशमा राष्ट्रपतिबाट क्षमादान पाउने व्यवस्था भए पनि हसिनाले त्यसका लागि आग्रह गरेका छैनन् । उनले अदालतको फैसलालाई अस्वीकार गर्दै आएका छन्।
हसिनाको सत्ता पतन भएको तीन दिनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हालेका थिए । उन नेतृत्वको सरकारले हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउनुका साथै फेब्रुअरीमा भएको निर्वाचनमा सहभागी हुन रोक लगाएको थियो । त्यसपछि तारिक रहमान नेतृत्वको निर्वाचित सरकारले सत्ता सम्हालेको हो ।
उता, सन् १९७१ को स्वतन्त्रता युद्धमा पाकिस्तानी सैन्य नेतृत्वको पक्षमा रहेको जमात–ए–इस्लामी पार्टी फेब्रुअरीको निर्वाचनसँगै पुनः सक्रिय राजनीतिमा फर्किएको छ । अहिले उक्त पार्टी बङ्गलादेशको प्रमुख प्रतिपक्षी दल बनेको छ । हसिनाको शासनकालमा उक्त पार्टीका कैयौँ शीर्ष नेताहरूलाई युद्ध अपराधको आरोपमा मृत्युदण्ड दिइएको थियो ।
हसिनाका पिता शेख मुजीबुर रहमानले पाकिस्तानविरुद्धको स्वतन्त्रता आन्दोलनको नेतृत्व गर्नुभएको थियो । सन् १९७५ मा सैन्य ‘कू’ का क्रममा उनीसहित परिवारका अधिकांश सदस्यको हत्या भएको थियो । त्यसबेला देशबाहिर रहेकी हसिना र उनकी कान्छी बहिनी भने बाँच्न सफल भएका थिए ।















