स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने नीति लिएको बताएकी छन् ।
राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले उपकरण, दक्ष जनशक्ति, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित प्रादेशिक ट्रमा सेन्टर स्थापना गरिने बताइन् ।
दुर्घटनापछिको उपचारमा अस्पतालपूर्वको आकस्मिक सेवालाई प्रभावकारी बनाउन सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागु गरिसकेको उनको भनाइ छ । देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा प्रवाह गर्न संघीय तथा सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई २४ सै घण्टा क्रियाशील बनाइएको उनले बताइन् ।
एम्बुलेन्सलाई सामान्य यातायातको साधनबाट आकस्मिक उपचार सेवासहितको साधनका रूपमा विकास गर्ने सरकारको नीति रहेको उनको भनाइ छ ।
ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नगरी शारीरिक पुनर्स्थापना तथा मनोसामाजिक परामर्श सेवालाई समेत संस्थागत गर्नुपर्ने उनले बताइन् ।
राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री मेहताले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृति र दरबन्दी व्यवस्थापनका विषयलाई छिट्टै निष्कर्षमा पुर्याइने बताइन् ।
सेन्टरले विपद्, महामारी तथा सवारी दुर्घटनाका समयमा अग्रपङ्क्तिमा रहेर सेवा पुर्याउँदै आएको उल्लेख गर्दै उनले विशेषज्ञ उपचार सेवा स्वदेशमै विस्तार हुँदा उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्न सहयोग पुगेको बताइन् ।
















