नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङ जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाउँमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ ।
गोठगाउँ शाखाको उद्घाटन प्रमुख अतिथी पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।डा।यादव राज कोईराला, नबिल बैंकका संचालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा अथितिहरु पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संगठन मोरङका सभापति राकेश सुराना, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्चअधिकारीहरूको उपस्थिती रहेको थियो ।
नबिल बैंकका सञ्चालक पौड्यालले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए ।
मन्तब्य दिने क्रममा प्रमुख अतिथी कोईरालाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए । पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरबाट हुने बैंकिङ सेवा विस्तारले विश्वविद्यालयका विद्यार्थी, कर्मचारी साथै स्थानीयवासी समेत लाभान्वित हुने बताए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले स्वागत मन्तव्य राख्दै पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँमा बैंकको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय रहेको बताए ।
‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ। साथै निकट भविष्यमा नै विश्वविद्यालयको लागि अडिटोरिम हल निर्माणमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गर्नेमा हामी प्रतिबद्ध रहेका छौं,’ ढुंगानाले भने ।
बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।













