सुनकोसी–मरिण डाईभर्सनको सुरुङ निर्माणमा तेस्रो पटक अवरोध 

राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणमा तेस्रो पटक अवरोध भएको छ । आयोजनाका सूचना अधिकारी रवि शाक्यका अनुसार आइतबारदेखि सुरुङ खन्ने काम बन्द भएको हो ।

१३ दशमलव ३ किलोमिटर लामो सुरुङमा हालसम्म ९ दशमलव १८६ किलोमिटर खनिएको छ । सुरुङ खन्ने क्रममा कडा चट्टान भेटिएपछि अमेरिकन प्रविधिको टनेल बोरिङ मेसिन (टिबिएम) रोकिएको हो ।

मेसिन निकाल्नका लागि बाइपास खनिएको सूचना अधिकारी शाक्य बताउँछन् । ‘टिबिएम निकाल्न बाइपास खन्दैछौं, एक सातामा फेरि काम सुरु हुन्छ, यो पहिलाको जस्तो ठूलो समस्या होइन’ उनले भने ।

यस अघि २०७९ पुसमा पनि कडा चट्टान भेटिएपछि ९ दिन र चैतमा लेदामाटोका कारण २३ दिन सुरुङ खन्ने काम प्रभावित भएको थियो । आहिले देखिएको समस्यासहित तेस्रो पटक सुरुङ अन्न अवरोध भएको आयोजनाले जनाएको छ । यद्यपि तोकिएको समयभन्दा अगावै सुरुङ निर्माण सम्पन्न हुनेछ । सुरुको म्याद आगामी साउनसम्म रहेको छ ।