दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन् । दसैँ सुरु भएपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन् ।
क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्तमात्रामा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा निरास पर्यटन व्यवसाय चाडबाड सुरु भएसँगै पुनःतङ्ग्रिन थालेको बताए । ‘दसैँअघि सौराहा सुनसान जस्तै थियो’, उनले भने , ‘पर्यटकीय सिजन सुरु भएसँगै पर्यटक बढ्न थालेका छन् ।’ देशमा बढ्दो अर्थतन्त्रको समस्याले कतै आन्तरिक पर्यटकको सङ्ख्यामा पनि कमी आउने हो कि भन्ने चिन्तामा रहेका व्यवसायीलाई दसैँको माहोलले भने केही उत्साहित बनाएको गिरीले बताए । उनले दसैँपछि सौराहाका सबै होटल पर्यटकले भरिभराउ भएको जानकारी दिए ।
आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्दै जाँदा सुस्ताउँदै गरेको सौराहाको पर्यटनलाई पुनःपुरानै लयमा फर्काउने राम्रो संकेत दिएको सौराहाका पर्यटन व्यवसायी वासु ढुङ्गानाले बताए। उनले दसैँमा पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको बताए ।
दसैँको टीकापछि सौराहामा झनै पर्यटकको सङ्ख्या बढेको छ । शुक्रबार साँझ सौराहामा थामिनसक्नु भीड थियो । सौराहाको ड्यामसाइटका रेष्टुरेन्ट तथा होटल भरिभराउ थिए । होटल हर्मिटेजका सौराहाका सञ्चालक रमेश रेग्मी आन्तरिकसँगै सौराहामा बाह्य पर्यटकको सङ्ख्या पनि बढेको बताए ।












