सुमना श्रेष्ठ हत्या प्रकरणः प्रेम सम्बन्ध बिग्रिएपछि धनकुटाबाट धरान झरेर हत्या

सुनसरीस्थित धरान उपमहानगरपालिका–१६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

धनकुटा नगरपालिका-९ मूलघाटका १९ वर्षीय बाबुराम भुजेललाई प्रहरीले सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानमा आयोजित पत्रकार सम्मेलनमा बाबुरामले सुमनाको हत्या स्वीकारेको जानकारी प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय धरानमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विपिन रेग्मीले हत्याका आरोपी भुजेललाई धनकुटाको मुलघाटबाट पक्राउ गरिएको जानकारी दिए । उनले प्रेम सम्बन्धलाई लिएर आफ्नै प्रेमीबाट श्रेष्ठको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

उनका अनुसार हत्या गरिएकी श्रेष्ठ र हत्या आरोपी भुजेलबीच दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको अनुसन्धानका क्रममा देखाएको छ । तर गत पुसदेखि श्रेष्ठसँग सम्बन्ध बिग्रिएपछि आरोपी भुजेलले योजनाबद्धरूपमा श्रेष्ठको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको रेग्मीले पत्रकार सम्मेलनमा बताए ।

सुमनासँग सम्बन्धमा समस्या आइरहेका बेला बाबुराम यही मंगलबार धरान झरेका थिए । काम गर्ने सिलसिलामा धनकुटाको मूलघाटमा बस्दै आएका बाबुराम धरान झरेर सुमनासँग भेट पनि गरे । त्यसपछि उनले सुमनालाई आफ्नै स्कुटरमा राखी चलाउन सिकाउन लगेको खुलेको छ ।

स्कुटर चलाउन सिकाउँदै लाने क्रममा बाबुरामले घोपा क्याम्प र डिपोट स्कुलको बीचमा लगेर सुमनाको हत्या गरेको भण्डारीले बताए ।

प्रहरीले घटनाका दिन सुमना र ती युवक ्र(बाबुराम भुजेल) एउटै स्कुटरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छिरेको विवरण पत्ता लगाएको थियो। सीसीटीभी फुटेजमा उनीहरू एउटै स्कुटर चढेको देखिएको थियो ।

प्रहरीले श्रेष्ठको हत्यामा प्रयोग भएको धारिलो हतियार खुकुरीसमेत सार्वजनिक गरेको छ । यही चैत ६ गते राति हत्या गरी धरान–१८ स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचको खोल्सामा फालिएको अवस्थामा श्रेष्ठको शव फेला परेको थियो ।