पेट्रोल र डिजेलको मूल्य घट्यो, ग्यासकाे यथावत्

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्य घटेर आएपछि नेपालमा पनि समायोजन गरिएको जनाएको छ ।

आजै रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको निगमले विज्ञिप्तिमार्फत जानकारी दिएको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने छ ।

डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ । एलपी ग्यासको मुख्य देशभर प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको निगमले जनाएको छ ।