नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’मा विदेश पठाउने निगमका दुई कर्मचारी निलम्बनमा

नेपाल वायुसेवा निगमले दुई कर्मचारीलाई निलम्बन गरेको छ । निलम्बन पर्नेमा यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव रहेका छन् ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अधिकृत पोखरेललाई मंगलवार निलम्बन गरिएको पत्र थमाएका छन् ।

नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’मा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा निगमका अधिकृत पोखरेललाई प्रहरीले मंसिर २५ गते पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई उनलाई हिरासतमा राखिएको छ ।

यस्तै ठगी तथा लिखतसम्बन्धी आरोपमा प्रहरीले पक्राउ गरेका यादवलाई मंगलबार नै निलम्बनको पत्र दिइएको छ । थुनामा रहेका दुवै कर्मचारीलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म निलम्बन गरिएको निगम प्रशासन स्रोतले जानकारी दियो ।

अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।