नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगीहरुले महसुल नतिरेको नाममा उद्योगको लाइन काट्न नहुने बताएका छन् ।
मध्यपहाडी यात्राका उपलब्धिबारे जानकारी गराउने क्रममा उनले सरकारसँग पैसा भएन भनेर बुल्डोजिङ गर्नु राम्रो नभएको बताए । उनले डेडिकेटेड फिडर र ट्रंकलाइन जोडे पनि त्यस अनुसार विद्युत नदिएको तर महसुल मात्र बढी लिएको भन्दै त्यो गलत भएको बताए ।
ओलीले भने, ‘सरकारले डेडिकेटेड लाइनको नाममा पुरानो बिलअनुसार असुल गर्न खोज्दैछ । डेडिकेडेट लाइन जोडेर बिजुली दिएको छैन भने केको पैसा तिर्ने ? उद्यमी व्यवसायी तड्पिरहेको समयमा लाइन काटेर विद्युत बन्द गर्ने काम उचित होइन । खपत गरेको विद्युतको महसुल लिने सम्झौताअनुसार लिनुपर्छ । तर, सम्झौता एकातिर छ काम अर्कोतिर हुनुहुँदैन ।’
डेडिकेटेड र ट्रंकलाइन विवादलाई संवादमार्फत हल गर्न पनि उनले सरकारलाई आग्रह गरे । ‘लिने दिनेबीचमा संवाद गर्न नसकिने भन्ने छैन, उहाँहरुको संगठन छ, सरकारका निकाय होलान त्यो भन्दा माथि सरकार होला । यीनका विचमा संवाद गरेर । खपत गरेको विद्युतको महसुल लिने’ उनले भने ।














