घरधनीले घरभाडामा बस्ने व्यत्तिसँग नेपाल विद्युत् प्राधिकरणले तोकेको महसुलभन्दा बढी रकम असुल गरेमा लाइन काट्न सकिने व्यवस्था गरेको छ । घरधनीले डेरावालसँग महँगो विद्युत्को महसुल असुल गरेको गुनासो आएपछि प्राधिकरणले तोकिएको भन्दा बढी महसुल लिएको पाइएमा त्यस्ता घरधनीको लाइन काट्ने व्यवस्था गरेको हो । यसबाट घरभाडामा बस्ने उपभोक्तालाई सर्वसुलभ विद्युत् सेवाको प्रत्याभूति हुनेछ ।
भाडामा बस्ने व्यक्तिले तोकिएका निश्चित शर्त पूरा गरी छुट्टै मिटर राखी विद्युत् सेवा लिन सकिने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाबाट घरभाडामा बस्ने उपभोक्तालेसमेत अन्य ग्राहक सरह सर्वसुलभ विद्युत् सेवा उपभोग गर्न पाउने छन् ।
बक्यौता भुक्तानी गर्ने प्रतिबद्धतासहित छुट्टै मिटर राख्नको लागि घरधनीको लिखित सहमति, घरधनी र बहालमा बस्नेबीच कम्तीमा एक वर्षका लागि गरिएको घरबहाल सम्झौता, घरबहालमा बस्ने व्यक्तिलाई छुट्टै मिटर दिन प्राविधिक दृष्टिकोणबाट उपयुक्त भएमा, घरधनीको बाँकी बक्यौता नभएमा र बहालमा बस्नेको मिटरसमेत एउटै स्थानमा राख्न सकिने गरी वायरिङको व्यवस्था गरिएका शर्त पूरा गर्नुपर्ने छ ।
वक्यौता किस्ताबन्दीमा तिर्न पाउने
विद्यु्त महसुलको वक्यौता रहेका ग्राहकले किस्ताबन्दीमा तिर्न पाउने भएका छन् । विद्युत् महसुल नतिरेर कालोसूचीमा परेका ग्राहकले पुनःविद्युत् लाइन जोड्नु पर्दा वक्यौता रकम एकमुष्ट बुझाउन नसकेमा नियमानुसार थप दस्तुर लिई बढीमा १२ किस्तासम्म रकम तिर्न सक्नेछन् ।
ग्राहकले साविकको वितरण केन्द्रबाट लगत खारेज गराई अर्को केन्द्रमा ठाउँसारी गर्न चाहेमा साविकको केन्द्रमा तत्कालीन सयममा प्रयोग भएका विद्युतीय सामग्री उल्लेख भई आएमा त्यसको पुनः प्रयोगशाला परीक्षण गर्नुनपर्ने व्यवस्था गरी सहजीकरण गरिएको छ । ग्रिड कोड, निर्माण मापदण्ड आदिको व्यवस्था विनियमावलीमा गरी भरपर्दो विद्युत सेवा प्रवाहमा जोड दिइएको छ ।