प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
सात मन्त्रालय फुटाएर १३ मन्त्रालय बनाउँदै राईले सत्तारूढ गठबन्धनका दलहरूलाई समेटेर आज मन्त्रिपरिषद विस्तार गरेका हुन् । मुख्यमन्त्री राईले मन्त्रिमण्डललाई विस्तार गरेर १४ सदस्यीय बनाएका हुन् । त्यसमा एक जना राज्यमन्त्री रहेका छन् भने १२ जना मन्त्री रहेका छन् ।
मुख्यमन्त्री कार्यालयका अनुसार राम कुमार राई, राजन राई, खिनु लिम्बु, झलक बहादुर मगर, शेखर चन्द्र थापा, ओम प्रकाश सरावागी, प्रताप प्रकाश हाङगाम, उपेन्द्र प्रसाद घिमिरे मन्त्री नियुक्त भएका छन् । यस्तै विष्णु तुम्बाहम्फे राज्यमन्त्री बनेका छन् ।
प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एकजना राज्य मन्त्री गरेर १४ सदस्यीय हुन लागेको हो ।














