बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच भेटवार्ता : कसले के भने ?

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिएको छ ।

भेटमा स्थानीय तह निर्वाचनको मिति, एमसीसी, संसद् खुलाउने विषयमा छलफल भएको भएको थियो ।

छलफलमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई संसद्‌बाट एमसीसी अनुमोदन गर्नेलगायत अन्य विषयमा सरकारलाई सघाउन आग्रह गरेका थिए । यस्तै एमाले अध्यक्ष ओलीले पहिले सरकारको तर्फबाट स्पष्ट धारणा बनाउन आग्रह गरेका छन् ।

बैठकबारे जानकारी गराउँदै एमाले महासचिव शंकर पोखरेलले एमालेले एमसीसीबारे पहिले सत्ता पक्षमा स्पष्ट निर्णय हुनुपर्ने आफ्नो अडान राखेको बताए । यस्तै संसद खोल्नेबारे सभामुखको कदम सच्चिनुपर्ने भनाइ दोहोर्‍याएको पोखरेलले बताएका छन् ।

त्यस्तै प्रचण्डले एमसीसीबारे चुनावपछि मात्रै छलफल गर्न प्रस्ताव गरेका छन् । ‘एमसीसीका सन्दर्भमा उहाँले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गरोस् वा संयुक्त रुपमा प्रतिपक्ष समेत भएर चुनाव पछाडि मात्र अगाडि बढाउन उचित हुन्छ भनेर प्रस्ताव पठाउँ भनेर आग्रह गर्नु भएको छ,’ महासचिव पोखरेलले भने ।

प्रधानमन्त्री देउवाले भने तत्कालै एमसीसी पास गर्नुपर्ने अवस्था रहेको भन्दै ओली र प्रचण्ड दुवैलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले सत्तापक्षले आफ्नो दृष्टिकोण राखेको अवस्थामा एमाले अनिर्णित नबस्ने बताएका थिए ।