काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठनको तयारी गरेका छन् । थापा निकटवर्तीहरुका अनुसार उनले कोरोनाको तेस्रो लहरका समयमा विधान, राजनीतिक प्रस्ताव लगायतका काम गरेका छन् ।
सोमबार भएको थापा पक्षको छुट्टै भेलामा नयाँ पार्टी गठनको विषयमा छलफल भएको हो । उक्त भेलामा थापाले आफुले उठाएका माग सम्बोधन नभए विकल्प खोज्ने र त्यसका लागि तयार रहन निकट नेताहरुलाई आग्रह गरेका थिए ।
थापाले सोमबारको भेलामा भने ‘मैले उठाएका सैद्दान्तिक, सांगठनिक र वैचारिक पक्षहरु सम्बोधन भएन भने विकल्प खोज्नुपर्ने हुनसक्छ । त्यो अवस्थाका लागि तयार भएर बस्नुस् । म दबाब दिन्नँ, आफ्नो अन्तरआत्मालाई सुन्नुस् ।’
भेलामा सहभागी राप्रपा पदाधिकारीहरुले भने अध्यक्ष राजेन्द्र लिङ्देनलाई दबाब दिने भन्दै हतारमा निर्णय नगर्न आग्रह गरेका छन् ।
यद्यपि आफूले उठाएका विषयहरु संवोधन भए राप्रपामै बस्न तयार रहेको समेत उनले बताएका छन् ।सोमबार नै गृहजिल्ला मकवानपुर हिँडेका उनले जिल्लाका नेता कार्यकर्तासँग सम्वाद गर्ने छन् । त्यसपछि निर्णय लिने बताइएको छ ।













