राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणको सुरूवात शेरबहादुर देउवा गृहमन्त्री हुँदा भएको आरोप लगाएका छन् ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘ललिता निवासको जग्गा हिनामिना प्रकरणको सुरुवात अहिलेको विपक्षी दलका सभापति (शेरबहादुर देउवा) गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरु भएको हो’, उनले भने । आफूहरूले २०४७ सालयताका सबै भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र जाँचबुझ आयोग माग गर्दै आएको पनि वाग्लेले बताएका छन् ।
‘ललिता निवास काण्डदेखि वाइडबडीसम्म कस-कसलाई जोगाइएको छ । यो सारा कुराको छानबिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय जाँचबुझ आयोग बनाउन आह्वान गर्दछ’, उनले भने । नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ ।













