महोत्तरीमा एक सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। आमा बुवा नभएको बेला उनको बलात्कार भएको हो । आमा बुवा इँटाभट्टामा काम गर्न गए थिए । त्यही बेला छिमेकी मामा पर्ने व्यक्तिले चकलेटको लोभ देखाई बालिकालाई आफ्नै कोठामा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ।
बलात्कार आरोपित मकवानपुर बागमती नगरपालिका–८ राहीगाउँ घर भई सोही इँटाभट्टामा काम गर्दै आएका २० वर्षीय राजेश लामालाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि बस चढी भाग्दै गर्दा प्रहरी चौकी हात्तिलेटको सहयोगमा लामालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको महोत्तरी प्रहरीले जनाएको छ।
पीडित बालिकाका बुवाआमा महोत्तरीकै एक इँटाभट्टामा काम गर्दै आएका छन्। गत चैत्र १२ गते दिउँसो करिब दुई बजे पीडित बालिका इँटाभट्टा परिसरभित्रै रहेको आफ्नो घरअगाडि बहिनीसँग खेल्दै गर्दा लामाले ललाइफकाई आफ्नो घरमा लगी करणी गरेका थिए।
घटनाको पाँच दिनपछि चैत्र १६ गते साँझ बालिकाले आमासँग पिसाब फेर्न समस्या भएको बताएपछि घटना सार्वजनिक भएको हो। आमाले छोरीलाई नुहाइदिन लाग्दा गुप्तांगमा चोट देखेर बालिकालाई सोधखोज गरेपछि उनले घटनाबारे बताएकी थिइन्। सो लगत्तै चैत्र १७ गते बिहानै प्रहरीलाई खबर गरेपछि आरोपित भागेको र प्रहरीले हात्तिलेटबाट नियन्त्रणमा लिएको थियो।













