विश्वकप युरोपेली छनोटको प्लेअफ फाइनलमा आज घरेलु टोली वेल्सले युक्रेनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे कार्डिफ सिटी स्टेडियममा हुनेछ ।
एकअर्काको समान गर्दा दुवै टोलीको लक्ष्य जित निकाल्दै कतार विश्वकप २०२२ मा स्थान पक्का गर्नु हुनेछ । वेल्स प्लेअफ सेमिफाइनलमा अस्ट्रियालाई २–१ ले तथा युक्रेन स्कटल्याण्डलाई ३–१ ले निराश पार्दै विश्वकप नजिक पुगेका हुन् ।
वेल्स आज जित निकाल्दै ६४ वर्षपछि विश्वकप खेल्ने सोचमा हुनेछ । उसले पछिल्लोपटक सन् १९५८ मा विश्वकप खेलेको थियो । त्यसयता वेल्सले विश्वकपमा स्थान बनाउन सकेको छैन । त्यो विश्वकपमा उ क्वार्टरफाइनल सम्म पुगेको थियो ।
युक्रेन पनि आज जित निकालेर कतार विश्वकपमा स्थान सुरक्षित गर्दै रुसको एकतर्फी युद्धका कारण पीडामा रहेका जनातालाई केही राहत दिन चाहन्छ । युक्रेनले पछिल्लोपटक सन् २००६ को विश्वकप खेलेको थियो । त्यो विश्वकपमा उसले क्वार्टरफाइनल सम्मको यात्रा तय गरेको थियो । त्यसयता भने युक्रेनले विश्वकपमा स्थान बनाउन सकेको छैन ।
वेल्स घरेलु मैदानमा खेलिएको पछिल्ला १८ खेलमा अपराजित रहँदै आएको छ । युरो कपमा इंग्ल्यान्डसँग ४–० ले पराजित भएयता युक्रेनले पनि कुनै खेल गुमाएको छैन ।












