काठमाडौं : सरकारले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएका विद्यार्थीलाई सित्तैंमा इन्डक्सन चुलो दिन आवेदन मागेको १० महिनापछि बाँड्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले यही पुस १७ गतेदेखि वितरण गर्ने गरी सूचना जारी गरेको छ।
सरकारले २०७८ फागुनमा दुर्गम क्षेत्रबाट उपत्यकामा आएर भाडामा बसेर सरकारी कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई स्वच्छ चुलो कार्यक्रम माग संकलनसम्बन्धी सूचना जारी गरेको थियो।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई एलपी ग्याँसको बढ्दो मूल्यको समस्याबाट राहत दिन भन्दै यसका लागि २०७८ फागुन २५ गतेभित्र निवेदन दिन सूचना जारी गरेको थियो।
ऊर्जा प्रवर्द्धन केन्द्रका अनुसार दुर्गम क्षेत्रका लागि ८ हजार चुलो दिइने भनिएकोमा ७ हजार ६ सय जनाको आवेदन पर्यो। त्यसैगरी लोपोन्मुख आदिवासी‚ जनजाति तथा दलित वर्गका लागि ५ हजार चुलो दिइने भनिएकोमा करिब ८ हजार विद्यार्थीले निवेदन दिए।
सरकारले भने १३ हजार चुलो वितरण गर्नेछ। राज्यले यसअघि जारी गरेको सूचनाअनुसार चुलो वितरण गर्न नगरी फेरि ०७९र८० का लागि गत भदौमै चुलोका लागि आवेदन खुला गरिसकेको छ।
उक्त सूचनाका आधारमा करिब ७ हजार निवेदन परिसकेको ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ७ हजार जनालाई नै चुलो वितरण गरिनेछ। पहिलो र दोस्रो चरणको संख्याको आधारमा राज्यले कुल २० हजार विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुलो दिनुपर्नेछ।












