नेपाली कांग्रेसका नेताहरू बूढानिलकण्ठ बैठकपछि बालुवाटारतर्फ लागेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलमा बोलाएकाले जान लागेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
पार्टीका शीर्ष नेताको बैठकले आफ्नो अडान यथावत् राख्ने निर्णय गरेको सहमहामन्त्री परियारले बताए । कांग्रेसले विहान बालुवाटारमा भएको बैठकमा गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुने गरी संसदीय समिति बनाउनुपर्ने अडान राखेको थियो । सत्ता पक्षले भने गोर्खा मिडिया प्रालिको नाम लेखेपछि रवि लामिछानेको नाम नराख्ने प्रस्ताव गरेको थियो ।
पार्टी उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रियसभा संसदीय दलका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्रबहादुर कार्की र सहमहामन्त्री परियार बालुवाटार निस्किएका हुन् ।














