६ दिनदेखि बेपत्ता बागलुङका बुढाथोकीको शव जंगलमा भेटियो

बागलुङको गलकोट नगरपालिका ६ कायसका क्षेत्रबहादुर बुढाथोकी मृत भेटिएका छन् । गत बिहीबार घरबाट घाँस काट्न निस्किएर बेपत्ता बनेका बुढाथोकीको शव मंगलबार जंगलमा झुण्डिरहेको अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार उनको स्थानीय जंगलमा झुण्डिरहेको अवस्थामा शव भेटिएको हो ।

घरदेखि २० मिनेटको दूरीमा रहेको खरबारीमा घाँस काट्न गएका बुढाथोकी अबेरसम्म घर नफर्केपछि परिवार, स्थानीयवासी र प्रहरी मिलेर तत्कालै खोजीमा लागेका थिए । पाँच दिन बित्दासमेत उनी नभेटिएपछि सोमबार प्रदेश मुकामबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली झिकाएर परिचालन गरिएको हो । बुढाथोकी हराएको ठाउँमा नाम्लो, डोरी र काटेको घाँस भने भेटिएको थियो ।

उनको हत्या गरिएको हो वा आत्महत्या हो भन्नेबारेमा अनुसन्धान भइरहेको र मेडिकल रिपोर्ट पछि थप पत्ता लाग्ने प्रहरीले जनाएको छ ।