सरस्वती प्रधानलाई लिफ्ट दिने मन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले गराए सचेत

प्रधानमन्त्री केपी शर्मा ओलीले जातिय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन् ।

आवेशमा आएर यस्तो काम नगर्न प्रधानमन्त्रीले सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी गराएका हुन् । आज एक पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । आवेशमा आएर यस्तो काम नगर्नुहोस् । जुन काम तपाईंले गर्नुभयो, त्यो ठीक भएन भन्नुभएको छ ।’

उनले मन्त्रीको त्यसप्रकारको कार्यलाई दुर्भाग्यपूर्ण भनी टिप्पणी गरे । उनले भने– “गाडीमा चढाएर लगे । यो दुर्भाग्य कुरा हो । राम्रो काम होइन । हाम्रो सम्माननीय प्रधानमन्त्रीले (हाँस्दै) अब मैले पत्रकार साथीलाई भन्ने कि नभन्ने ? तर भन्नै पर्छ हिजो पनि सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है ।”

सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिएका थिए । यो विषयको सर्वत्र आलोचना हुँदै आएको छ ।