रास्वपा सांसद झा भन्छन्- गिरीबन्धुको फाइल खोल्ने तयारी छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद झाले आफ्नो पार्टी सरकारमा गएपछि टिकापुर, बाँसबारी जग्गा प्रकरणको छानविन गरेको भन्दै भूटानी शरणार्थी प्रकरणको पुनः छानविन गर्ने र गिरीबन्धुको पनि फाइल खोल्ने तयारी भइरहेको बताएका हुन् ।

उनले सहकारी प्रकरणमा आफुहरुले ससर्त छानविन समिति बनाउन तयार रहेको जनाएको र त्यहि आधारमा अहिले संसदीय छानविन समिति बनेको धारणा राखे । आफूहरु प्रशस्तै विकल्प छाडेर देशका लागि केहि गर्न राजनीतिमा होमिएको उनले बताएका छन् ।

सांसद झाले संसदमा बोल्ने क्रममा केहि नेताहरुले परिवर्तनको क्रेडिट लिन खोजेको भन्दै राजनीतिमा सबै परिवर्तनको क्रेडिट लिने काम उचित नभएको जिकिर गरे । लामो समय संसद अवरुद्ध हुँदा जनताका समस्याको उठान गर्न नपाइएको उल्लेख गर्दै उहाले संसद खुलेपछि निरन्तर जनताको पक्षमा आवाज उठाइने बताए ।