मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत नलिने भएका छन् ।
बुधबार विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका हुन् ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवका बुधबार संसदीय दलको बैठकले २८ जेठमा विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको छ ।
३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उनले ३० जेठसम्म विश्वासको मत लिनुपर्नेछ ।
एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले समर्थन फिर्ता लिएपछि यादवले आज मधेस प्रदेस सभाबाट पाँचौँपटक विश्वासको मत लिने तयारी गरेका थिए ।
सरकारका रहेका कुनै पनि दलले समर्थन फिर्ता लिएको अवस्थामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि सहयात्री दलले यादवको साथ छाडेपछि पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो ।