पर्वतमा पहिरोले चारवटा घर पुरिँदा ११ जनाले ज्यान गुमाए, सबैभन्दाबढी क्षति कुश्मा नगरपालिकामा

अविरल वर्षापछिको पहिरोले पर्वत जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण आएको पर्वतमा पहिरोले चारवटा घर पुरिँदा ११ जनाले ज्यान गुमाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीका अनुसार पहिरोले कुश्मा नगरपालिका ३ का एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीया कौशिला पौडेल, ३५ वर्षीया भवगती पौडेल, १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ९ वर्षीय विनोद पौडेल छन् ।

त्यसैगरी पहिरोले घर पुरिँदा कुश्मा नगरपालिका ११ सिल्मीका ३५ वर्षीय दुर्गा पौडेल र ६ वर्षीय गणेश पौडेलको मृत्यु भएको छ । त्यस्तै कुश्मा नगरपालिकाकै वडा नं. ११ पकुवाकी ७० वर्षीया डल्ली उपाध्याय पौडेल, ४० वर्षीया मायाकुमारी पौडेल र ३ वर्षीय बालक प्रयुष पौडेलको पहिरोका कारण ज्यान गएको छ ।

त्यसैगरी पहिरोले गोठ बगाउँदा पुरिएर मोदी गाउँपालिका ५ आमबोटकी ५० वर्षीया फूलमाया थापाको पनि मृत्यु भएको डिएसपी बुढाथोकीले बताए ।

वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत आमबोटदेखि कुश्मा बजारसम्मको सडक अवरुद्ध छ । यो क्षेत्रमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको डिएसपी बुढाथोकीले जानकारी दिए । उनका अनुसार पहिराले खेतीयोग्य जमिनमा निकै ठूलो क्षति पुगेको छ भने पहिरो पन्छाउन मात्रै दुई साता बढी लाग्ने अनुमान गरिएको छ ।

पहिरोका कारण धौलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ सडक, विद्युत र सञ्चार सम्पर्कबाट विच्छेद छन् ।