नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको पहिलो चरणमा शुक्रवार भएको वडा स्तरीय चुनावमा दैलेखबाट १९ वर्षीया किशोरी स्वस्तिका महत वडा सभापतिमा सर्वसम्मत चुनिएकी छन् ।
जिल्लाको दुल्लु नगरपालिका–३ मा निर्वाचित भएकी महतलाई काँग्रेस राजनीतिमा सक्रिय स्वः जिल्ला उपसभापति भूपेन्द्रजंग महतको सम्मानमा सर्वसम्मत चुनिएको नेपाल दलित सङ्घका जिल्ला सभापति दीपक विकले बताए । सम्भवतः उनी देशकै कान्छी वडा सभापतिको रूपमा चयन भएकी छन् ।
देशकै कान्छी वडा सभापति स्वस्तिका काँग्रेसको १३ औँ महाधिवेशनमा निर्वाचित दैलेख जिल्ला उपसभापति भूपेन्द्रजङ्ग महतकी छोरी हुन । दुई वर्ष अघि स्वास्थ्य उपचारको क्रममा दिल्लीमा महतको निधन भएको थियो ।
उपसभापति स्व. भूपेन्द्रप्रति सद्भावना जनाउँदै काँग्रेसले स्वस्तिकालाई सर्वसम्मतिबाट वडा सभापति बनाएको विकले बताए । यस्तै महतकी आमा अर्थात् पूर्व उपसभापति भूपेन्द्रकी धर्मपत्नी अरुणा महतलाई क्षेत्रीय प्रतिनिधि चयन गरिएको छ ।
क्षेत्रीय प्रतिनिधिले काँग्रेसको निर्वाचन क्षेत्र स्तर, जिल्ला नेतृत्व र केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महाधिवेशन सदस्यका उम्मेदवारलाई मतदान गर्न र आफैँ उम्मेदवार बन्न पाउँछन् । देशकै कान्छी वडा सभापति स्वस्तिकाले आफ्नो बुबाले राजनीतिमा क्रियाशीलता छँदै अकालमा मृत्युवरण गरेर गर्न नपाएका राजनीतिक सेवा गर्ने अठोट रहेको बताएकी छन् ।
उनले मिलेसम्म आफू आउँदो स्थानीय चुनावमा वडाध्यक्षको उम्मेदवार बन्ने इच्छा जनाएकी छन् । तर कानुनअनुसार पालिकाको उम्मेदवार हुन २१ वर्ष पुगेको हुनुपर्ने उमेर हद तोकिएको छ ।















