गएरातिदेखि परेको ठूलो वर्षाका कारण काठमाडौँ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् ।
रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वाग्मती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको ५, ६ वटा साना गाडी बगाएको प्रहरीले जनाएको छ । बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ । अहिले त्यहाँ सामान हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
बाढीका कारण काठमाडौँका विभिन्न क्षेत्रका तीन सय ८२ घर डुबानमा परेका छन् भने एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।
यस्तै, काठमाडौँको टेकुमा रहेको परोपकार क्षेत्रको सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ । प्रहरीका अनुसार डुबानमा फसेका एक व्यक्तिको उद्धार गरिएको छ । त्यसैगरी, रामकोट, बाफल सीतापाइला, मुलपानी लगायत क्षेत्रमा पनि डुबानले बस्ती जोखिममा परेको छ ।















