प्रदीप पौडेल पनि महामन्त्रीमा भिड्ने

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । उनले महामन्त्रीमा लड्न आन्तरिक तयारी समेत गरिसकेका छन् ।

पौडेल १३औँ महाधिवेशनदेखि नै नेता कृष्णप्रसाद सिटौला समूहमा छन् । १४औँ महाधिवेशनमा पनि उनले सिटौला समूहबाटै महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

पौडेल पछिल्लो समय केन्द्रीय क्रियाशील छानविन समितिमा रहेर काम गरेका थिए । क्रियाशील सदस्यता सम्बन्धिका विवाद अझै केही जिल्लामा टुंगोमा पुगेको छैन । यी विवाद समाधान गरिसकेपछि महाधिवेशनमा होमिने पौडेलको तयारी छ ।

१३औँ महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दिएका थिए । यसपटक पनि थापाले महामन्त्रीमै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर, उनले सिटौला समूहसहित संस्थापनइतर समूह (पौडेल) समूहतर्फ नजिक छन् ।

गगनले आफ्नो साथ छाड्ने देखेपछि सिटौलाले पौडेललाई महामन्त्रीमा उम्मेदवारी दिन प्रस्ताव गरेका थिए । पौडेलले त्यहीअनुसार महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका हुन् । तपाई सिटौला समूहबाट महामन्त्री हो ? भन्ने प्रश्नमा पौडेलले भने, ‘त्यो तपाईहरुले बुझ्ने कुरा हो । महाधिवेशनको माहोल बन्न अझै बाँकी छ । अहिले यत्ति हो मैले महामन्त्रीमा उम्मेदवारी दिन्छु । त्यसको तयारी गरिरहेको छु ।’

प्रदीप पौडेल पनि महामन्त्री पदमा लड्ने तयारी गरेपछि युवा केन्द्रीय सदस्यहरू यो महाधिवेशनमा आमनेसामने हुने भएका छन् । सभापति देउवा पक्षबाट महामन्त्रीमा प्रवक्ता विश्वप्रकाश शर्मा पनि लड्ने तयारीमा छन् । उनले यही भदौ २४ गते महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गर्दैछन् ।

थापाले गत भदौ १४ मै महामन्त्री पदमा लड्ने घोषणा गरिसकेका छन् । कांग्रेस विधानअनुसार यसपटक दुई महामन्त्री पदका लागि निर्वाचन हुनेछ । सभापति, दुई उपसभापति र एक सय ६८ सदस्यीय केन्द्रीय समितिमध्ये १३५ सदस्यीय केन्द्रीय सदस्यका लागि पनि प्रत्यक्ष निर्वाचन हुनेछ ।