चीनद्वारा हुम्लाका जनतालाई मेडिकल सामग्री र खाद्यान्‍न सहयोग

हुम्लाका जनतालाई चीनले मेडिकल सामग्री र खाद्यान्‍न सहयोग गरेको छ । चिनियाँ राजदूतावासका अनुसार चिनियाँ परराष्ट्र मन्त्रालय र तिब्बतका स्थानीय अधिकारीहरूबाट नाम्खा गाउँपालिकाका बासिन्दालाई स्वास्थ्य सामग्री, खाद्यान्न र दैनिक आवश्यक पर्ने वस्तुहरु अनुदान सहयोग गरेको हो ।

केही समयअघि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लाप्चा क्षेत्रमा चिनियाँ पक्षले नेपाली सीमाभित्र संरचना बनाएको चर्चा चलेको थियो । सरकारले उक्त क्षेत्रको अध्ययन गर्न समिति नै बनाएको थियो ।

उक्त समितिले रिपोर्ट बुझाएको केही सातापछि चीनले विदेश मन्त्रालय र स्वशासित क्षेत्र तिब्बतका तर्फबाट नाम्खावासीलाई सहयोग गरेको हो ।

राजदूत होउ यान्छीले उक्त सहयोगलाई दुई मुलुकबीचको सीमा सहकार्यको संज्ञा दिएकी छन् ।

उनले ट्वीट गर्दै कोरोना भाइरसविरुद्ध संयुक्त रुपमा लड्न चीन–नेपालको लागि सीमा सहकार्य महत्वपूर्ण पक्ष रहेको उल्लेख गरेकी छन् । कति परिमाणमा सामग्री सहयोग गरिएको हो भन्ने बारेमा भने राजदूतावासले उल्लेख गरेको छैन ।