राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरेको हो ।
बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको हो ।
पार्टीका सहप्रवक्ता मनिष झाका अनुसार केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको छ ।
साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारवाहीको सिफारिससहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको छ ।
बुधबारको केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठकको बीचबाटै बाहिरिएका थिए । मिडियाकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।
