निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ स्थगित

निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवाइ स्थगित गरिएको छ ।

बिहीबार उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले उजुरीकर्ताले उल्लेख गरेका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले सुनुवाइ स्थगित गरेको हो ।

सुनुवाइ समितिमा प्रधानको नियुक्ति सिफारिस अनुपयुक्त भएको भन्दै प्रधानविरूद्ध ४ वटा उजुरी परेका छन् । चार वटै उजुरी यौन शोषण र दुर्व्यवहारको विषयसँग सम्बन्धित छन् ।

प्रधानविरूद्ध एक पीडितले आफूलाई पाँच वर्षसम्म निरन्तर शोषण गरेको उल्लेख गर्दै आशय करणी गरेको उजुरी दिएकी छन् । त्यस्तै, आफूले प्रहरीमा जाने प्रयास गरे पनि उजुरी दिनबाट रोकिएको बताएकी छन् । पीडितले आफूलाई प्रधानले ‘हनी ट्र्याप’ को केस बनाएर जेल कोच्न खोजेकोसम्म उल्लेख गरेकी छन् ।

सुनुवाइ समितिका सदस्य एमाले सांसद महेश बर्तौलाका अनुसार बिहीबार उजुरीकर्तासँगको छलफल गरेपछि उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले शुक्रबार प्रधानको सुनुवाइ स्थगित गरिएको हो ।

उजुरीका विषयमा थप अध्ययन गरेपछि मात्र सुनुवाइ गरिने उनले जानकारी दिए । सुनुवाइ समितिले उजुरीकर्तासँगको छलफल बन्द कोठामा गरेको थियो । सुनुवाइ समिति स्रोतका अनुसार उजुरीकर्तासँग समितिले प्रधानसँगको कुराकानीको अडियो फाइल माग गरेको छ ।