सहकारी छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलायो

सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलमा बोलाएको छ ।

शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको समिति सदस्य ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । बैठकमा गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई छलफलका निम्ति बोलाइएको उनले बताइन् ।

बैठक सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बस्नेछ । समितिले अनुसन्धान गरिरहेको सहकारीको अवस्थाबारे उनीहरूसँग जानकारी लिइने उनले बताइन् ।

‘सीआईबीले हेरिरहेको सहकारीसँग सम्बन्धित मुद्दाहरुको बारेमा र देशभरि प्रहरीले ह्याण्डिल गरिरहेको मुद्दाहरुका बारेमा समग्रतामा गृहसचिव र प्रहरी महानिरीक्षकसहित छलफल गर्ने गरी भोलिका लागि बैठक राखेका छौं’, उनले भनिन् ।

समितिले बिहीबार महालेखा परीक्षक तोयम राया, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमल भट्टराई र सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेसँग छलफल गरेको थियो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएको भन्दै नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि सहकारीको वचत रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।