कास्कीमा पहिरो खसेर घर पुरिँदा एकै परिवारका ६ सहित ७ जनाको मृत्यु भएको छ ।
बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार कुलबहादुर परियारको टिनले छाएको र ढुङ्गामाटोले बनेको घरमा पहिरो खसेको हो ।
डिएसपी शर्माका अनुसार ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियारको मृत्यु भएको हो । घटनापछि उद्धार निम्ति पुगेकी छिमेकी ५६ वर्षीया राधिका परियारको चाहिँ सोही क्रममा लडेर मृत्यु भएको सशस्त्र प्रहरी वल कालिका गणले जनाएको छ ।
घटनामा परी सोही घरका छोरा १७ वर्षीय पवन परियार र उद्धार क्रममा निधन भएकी राधिकाका छोरा २९ वर्षीय कुमार परियार घाइते भएका छन् । उनीहरूको शव निकालिसकेको छ ।













