को हुन सरकारको प्रवक्ता हुनेगरि सूचना तथा सञ्चार प्रविधिमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ ?

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा  गुरुङ केपी शर्मा ओली नेतृत्वको सरकारमा सूचना तथा सञ्चार प्रविधिमन्त्री बनेका छन् । नेकपा एमालेका उपमहासचिवसमेत रहेका गुरुङले सोमबार प्रधानमन्त्री ओलीबाट पद तथा गोपनीयताको शपथ लिएर आफ्नो पदभार समेत ग्रहण गरेका छन् ।

विसं २०३४ सालदेखि राजनीतिमा सक्रिय गुरुङ नेपालको कम्युनिस्ट आन्दोलनमा मार्क्सवाद र मदन भण्डारीले प्रतिवादन गरेको जबजका स्पष्ट ब्याख्यताका रूपमा पनि चिनिन्छन् । नेपाली राजनीतिमा ठोस बिचारसहितको स्पष्ट दृष्टिकोण  राख्ने उनी पार्टीभित्र खरो र प्रस्ट बोल्ने नेताका रूपमा स्थापित छन् ।  नेकपा एमालेभित्र अध्यक्ष ओलीसँग आँखा जुधाएर कुरा गर्न सक्ने नेताका रूपमा चिनिने गुरुङलाई सरकारको प्रवक्ताको समेत जिम्मेवारी दिने तयारी छ । 

२०७९ को निर्वाचनमा लमजुङबाट प्रतिनिधिसभा निर्वाचित हुँदा काँग्रेस माओवादीसहितको ५ दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका महासचिव देव गुरुङलाई भारी मतले पराजित गरेका उनी गण्डकी प्रदेशका संस्थापक र  सफल मुख्यमन्त्रीका रूपमा गण्डकी प्रदेशमा स्थापित छन्  । 

मुख्यमन्त्री हुँदा प्रदेश संरचनालाई बलियो बनाउने सवालमा बेला बेला आफ्नै पार्टीका अध्यक्षसँग पनि खरो रूपमा प्रस्तुत हुने गरेका थिए ।  प्रदेशको नाम र राजधानीको छिनोफानो निर्विवाद टुग्याउनेदेखि मुख्यमन्त्री हुँदा उनको कार्यकालमा भएका कार्यक्रम र विकास निर्माणको चौतर्फी प्रशंसा हुने गरेको छ । 

साढे ३ वर्ष मुख्यमन्त्रीको जिम्मेवारीमा रहँदा गुरुङले उज्यालो प्रदेशको परिकल्पना गर्नेदेखि प्रदेश मुख्यमन्त्रीको भेला गरेर प्रदेशका अधिकारकालाई एकीकृत गर्न माग गरेका थिए । 

२०१४ साल फागुन १ गते गङ्गाप्रसाद र चिनी गुरुङका छोराका रूपमा गिलुङ गाविस-८, टक्सार (हाल क्होला सोंथार गाउँपालिका–९, टक्सार, लमजुङ) मा जन्मिएका गुरुङले विज्ञानमा स्नातक पुरा गरेका छन्। पञ्चायतकालमै राजनीतिमा होमिएका बिद्यार्थी आन्दोलनबाटै राजनीतिमा उदाएका हुन । पञ्चायतकालमै र बहुदलीय व्यवस्था आइसकेपछि पनि जनपक्षिय आन्दोलनका क्रममा गुरुङ पटक पटक  प्रहरी हिरासतमा परेका छन् ।

२०२७ सालमा ईशानेश्वर प्रमोद हाई स्कुल, भोर्लेटार अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव हुँदै राजनीतिमा सक्रिय गुरुङ २०४० मङ्सिरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्ष भएका थिए। २०३५ सालबाटै पार्टीको सक्रिय राजनीतिमा लागेका उनले २०३७ मा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए। २०६४ सालमा लमजुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा विजयी भएका गुरुङ उतिबेलै नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा काम गरेको अनुभव छ । पर्यटन मन्त्री हुँदा गरेका उत्कृष्ट कामको चर्चा नेपालको नागरिक उड्डयनको क्षेत्रमा अहिले पनि हुने गरेको छ । 

नेकपा एमालेमा २०५४ सालमै वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टीको विभिन्न जिम्मेवारीमा रहेर सचिव हुँदै यस पटक उपमहासचिव भएका गुरुङ एमालेको १०औँ महाधिवेशनमा महासचिवका बलिया दाबेदार मानिन्थे । तर,  अन्त्यमा पार्टीका सबै पदमा सर्वसम्मत  नेतृत्व चयन भएपछि महासचिवका बलिया दाबेदार मानिएका उनी उपमहासचिवको जिम्मेवारीमा छन् । 

गण्डकी प्रदेशका ११ वटै जिल्लामा कम्युनिस्ट राजनीतिको जगलाई बलियो बनाउन निर्वाह गरिरहेको गुरुङको  भूमिकालाई त्यहाँको एमालेभित्र मात्रै होइन अन्य राजनीतिक दलले समेत  प्रशंसा गर्ने गरेका छन् ।  लमजुङका जनताका बिचमा समेत खरो र स्पष्ट स्वभावसहितको दुरदृष्टिकोण राख्ने विकासप्रेमि लोकप्रिय नेता मानिएका उनी २०७०  को संविधानसभाको निर्वाचनमा भने काँग्रेस उम्मेदवारसँग पराजित हुनुपरेको थियो । यसपछि, २०७४ को निर्वाचनबाट गुरुङ लमजुङ-१ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर २०७४ देखि २०७७ सम्म गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री बनेका हुन ।

दृष्टिकोण र व्यवहारले समाकालिन एमाले नेतृत्वमध्ये गुरुङ बौद्धिक र पाका नेताका रूपमा चिनिन्छन् । प्रदेशका अधिकारका विषयमा लड्ने बलियो नेताका रूपमा उनलाई अहिले पनि पार्टीभित्र चर्चा हुने गर्छ । एमाले उपाध्यक्ष एव संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनपछि यो धारका समेत निर्विकल्प नेताका रूपमा चिनिने गुरुङले यसअघि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्व समेत गरेका थिए । 

नयाँ संविधानमा पिछडिएको वर्ग जातजाति र भाषाभाषिलाई आरक्षणसहित मूल प्रवाहमा ल्याउने आन्दोलनको मोर्चामा समेत गुरुङले निर्वाह गरेको भूमिका उल्लेख्य मानिन्छ ।