विपद्‍मा परी बेपत्ता भएको १० दिनपछि मृतकसरह परिवारलाई राहत दिने सरकारको निर्णय

सरकारले विपद्‍का घटनामा परी बेपत्ता भएका व्यक्ति १० दिनसम्म फेला नपरे मृतक सरह परिवारलाई राहत उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि बेपत्ता व्यक्तिका सन्दर्भमा राहतको व्यवस्था थिएन ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवत्ता एवम् सञ्चार तथा सूचना प्रविधमन्त्री पृथ्वी सुब्बा गुरुङले भने, ‘विपद्‍का कारण बेपत्ता भइ घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसकेको व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने ।’

यस्तै सरकारले लीला गड्तौलालाई कायम मुकायम मुख्य सचिव बनाउने निर्णय गरेको छ ।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि मुख्यसचिवको पद रिक्त थियो ।

यस्तै सरकारले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त देश बनाउने निर्णय गरेको छ ।