पशुपतिनाथमा भक्तजनको घुइँचो, भीड व्यवस्थापनको तयारी पूरा

पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् ।

साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनले विशेष पूजाआजा गर्ने गर्छन् । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजन पूजाआजाका लागि पुगिरहेका जानकारी दिए ।

‘साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ,’ उनले भने । आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ ।

कोषले गत असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको भए पनि साउनमा आउने भक्तजनका लागि सहज होस् भन्ने उद्देश्यका साथ पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।

पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भीडभाड व्यवस्थापनको सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अन्य महिनाको तुलनामा साउन महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बढी भीड लाग्ने गर्दछ । साउने सोमबारका दिन व्रतालु र बोलबमका श्रद्धालुहरुले शिवको विशेष भक्तिपूर्वक पूजा गर्ने भएकाले पशुपति मन्दिरमा साउनमा घुइँचो लाग्दछ ।

यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका छन् । ती चार सोमबार, चार शनिबारका साथै साउन महिनामै परेका नागपञ्चमी र गुरुपूर्णिमाको दिन पनि पशुपतिमा भक्तजनको भीड हुने गर्दछ ।

त्यसैले भक्तजनको सुविधा, सुरक्षा प्रबन्ध लगायतका तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । भीडलाई व्यवस्थित गर्न स्वयंसेवक खटाउनेदेखि दमकल र एम्बुलेन्सको पनि व्यवस्था गरिएको अधिकारीले बताए ।