सप्तकोशी छेउछाउ हुने तस्करी रोक्न सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने

सप्तकोशी नदीको छेउछाउ हुने तस्करी नियन्त्रण गर्न कठिन भएपछि सुरक्षा निकाय अब कडाइ गर्ने निर्णय गरेको छ ।

नदीको आडमा विभिन्न लागुऔषध र प्रतिबन्धित औषधिको तस्करी बढेको निष्कर्षमा पुगेको सुरक्षा निकाय यस्ता कारोबार रोक्न कडाइपूर्वक लाग्ने निर्णयमा पुगेको हो ।

लागुऔषध कारोबार र ओसारपसार चुनौती बन्दै गएपछि सुनसरी प्रशासनको नेतृत्वमा भेडेटारमा सम्पन्न डीआईजी सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो ।

कोशीसँग जोडिएका कोशी प्रदेशका ४ जिल्ला सुनसरी, उदयपुर, धनकुटा र भोजपुरका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा भएको विशेष सुरक्षा बैठकले गरेको उक्त निर्णय तत्काल कार्यान्वयन गर्ने सहमतिसमेत भएको छ ।

सोहीबमोजिम मातहतका चारै जिल्लाका सुरक्षा निकायलाई निर्देशनसमेत दिइएको छ । कोशी प्रदेशका डीआईजीद्वय चन्द्रकुवेर खापुङ र शम्भू सुवेदीसहितको उपस्थितिमा चार जिल्लाका सुरक्षा प्रमुखलाई तस्करी नियन्त्रणमा कडाईसाथ लाग्न निर्देशन दिइएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार नदीबाट गाँजा तथा अन्य कुनै पनि लागुऔषध ओसारपसार गरेको फेला परेमा सुरक्षा निकायले आवश्यकताअनुसार कारबाही अघि बढाउनेछ ।

‘तस्करी र लागुऔषध नियन्त्रणको सवालमा सुरक्षा निकाय कठोरताका साथ लाग्ने सर्वसम्मत सहमति जुटेको छ । सुरक्षा निकायको हकमा सहभागी चारवटै जिल्लाका प्रजिअबाट संयुक्त रुपमा सोहीबमोजिमको निर्देशन जारी भएको छ‚’ बैठकको संयोजन गरेका प्रजिअ तिवारीले निर्णयबारे जानकारी दिँदै भने, ‘तस्करी नियन्त्रणको प्रयासमा सुरक्षाकर्मीले आवश्यकता हेरेर हदैसम्मको कारबाही गर्नेछ । आवश्यक परे सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्नेछ ।’

बैठकमा कोशी नदीबाट बाँस ओसारपसार गर्ने बहानामा पहाडी भेगबाट तराईका जिल्लासम्म गाँजा ओसारपसार हुने र खुला सीमाका कारण भारतबाट ल्याइएका लागुऔषध सुनसरी हुँदै नदी आसपासका अन्य जिल्लासम्म पुर्‍याइने गरेको जस्ता विषयमा केन्द्रित भएर छलफल भएको थियो ।

संयुक्त बैठकले लागुऔषध तथा तस्करी नियन्त्रणका लागि सम्बन्धित नाकामा सुरक्षा तैनाथी बढाउने निर्णयसमेत गरेको छ ।

बैठकले राति नदीबाट हुने आवतजावत ठप्प पार्ने र नदीमा बगाएर ल्याइने बाँस र डुंगाको आवतजावत तथा ट्युब प्रयोग गरी हुने सामान ढुवानी र मानवीय आवतजावत निषेध गरिएको समेत जनाएको छ ।