नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग पार्टीको सम्बन्ध टुटेको निष्कर्ष निकाल्दै केन्द्रीय समिति बैठकपछि देशभर जनतामाझ जाने प्रतिबद्धता जनाएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि मंगलबारसम्म चलेको पदाधिकारी बैठकको समापन गर्दै उनले देशभर जनताको सुख–दुःख बुझ्न जाने इच्छा राखेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘अब हाम्रो जनतासँगको सम्बन्धको कडी टुटेको छ,’ बैठकमा अध्यक्ष प्रचण्डले राखेको भनाइ उद्धृत गर्दै सापकोटाले भने, ‘म देशैभरी जनतासँग एकाकार हुन, सुखदुख बुझ्न र सुन्नका लागि देशैभर जाने इच्छा छ ।’
त्यस्तै, माओवादीले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नुपर्ने निश्कर्ष निकालेको छ । गठबन्धन गरेर निर्वाचन लड्दा विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोणहरु ओझेलमा परेको बैठकको निश्कर्ष छ । आजको बैठकमा प्रचण्डले पदाधिकारीहरुको पश्नको जवाफ दिएका थिए ।
‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने, जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोणहरु जनतामा सोझै पुग्न सकोस् । पहिलाका अनुभवले हामीलाई के भयो भने गठबन्धन गर्दाखेरी कहीँ न कहीँ अरु पार्टीको पनि सन्तुलन मिलाउन पर्ने भएकाले हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा, हाम्रो दृष्टिकोण लाने हामीलाई मौका मिलेको थिएन । हामीले के निश्कर्ष निकालेका छौं त भन्दाखेरी यो जनतामा जाने सुर्वण अवसर पनि हो,’ प्रवक्ता सापकोटाले भने ।
साथै, गठबन्धन गरेर निर्वाचनमा जाँदा वर्गसितको सम्बन्ध खुकुलो र टुटेको भएको र जनताको सुख, दुःखमा नजोडिएको जस्तो भएको प्रवक्ता सापकोटाले बताए । उनले पदाधिकारी बैठकमा लामो समीक्षासहित जनतामा जाने निर्णय गरिएको बताए । माओवादी केन्द्रले आगामी साउनको २५ गते स्थायी समिति बैठक बोलाएको छ ।
प्रवक्ता सापकोटाले पदाधिकारी बैठकमा प्रतिपक्षीको भूमिकालाई सशक्त रुपले निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, गुणात्मक ढंगले देश र जनताका जल्दाबल्दा समस्याहरु र अघिल्लो सरकारले सुरु गरेको सामाजिक न्यायसहितको सुशान, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने निर्णय भएको बताए ।