महोत्तरीमा बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बाढीले सडक बगाउँदा महोत्तरीमा पूर्वपश्चि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि बर्दिबासको जंगल क्षेत्रमा सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी रेवतीरमण पोखरेलका अनुसार बर्दिवासस्थित ढुंग्रखोलाको पुल नजिकको सडक बाढीले बगाएको हो ।

‘ढुंग्रेखोला पुलको पश्चिमतिर करिब १२ फिट सडक बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध छ,’ डीएसपी पोखरेलले भने, ‘साना गाडी वैकल्पिक सडक भएर चलेका छन् ।’

पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट आएका गाडी बर्दिबासमै रोकिएका छन् भने पश्चिमबाट आएका गाडी सर्लाहीको लालबन्दी, फूलजोर, महोत्तरीको लक्ष्मिनियाँ लगायतका ठाउँमा रोकिएका छन् ।

‘कतिपय गाडी गौशाला हुँदै वैकल्पिक सडकबाट पनि चलेका छन्,’ पोखरेलले भने, ‘केही गाडी हुलाकी राजमार्ग हुँदै चलेका छन् । साना गाडी कच्ची सडकबाट पार भए पनि ठूला गाडी रोकिएका छन् ।’

पूर्वबाट आएका धेरै गाडी गौशाला हुँदै लक्ष्मिनियाँ फुलजोरतिर निस्केर पनि गन्तव्यतिर लागेका उनले बताए छन्। तर, मालबाहक ट्रकसहित ठूला बस भने सडकमै रोकिएका छन् ।