नेपाल कमर्श क्याम्पसका प्राध्यापक धर्मराज विष्टका हत्या आरोपी १७ वर्षपछि पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर बस्ने ३९ वर्षीय रञ्जन खड्कालाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
प्राध्यापक विष्टले जिस्काउने गरेको भन्दै सविता थापाका भाइ विनोद थापासहितको समूहले विष्टलाई निर्घात कुटपिट गरी घाइते बनाएको अवस्थामा २०६४ असार २६ गते ललितपुरको शंखमुलमा फेला परेको र उपचारका क्रममा मृत्यु भएको थियो ।
उक्त घटनामा संलग्न सविता थापा र विनोद थापालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो भने विनोद थापा कैद सजाय काटेर जेलबाट छुटिसकेका छन् । एसएसपी भट्टराईले घटनामा संलग्न मध्ये हालसम्म खुलेका तथ्यहरुबाट रञ्जन घटनाका प्रमुख व्यक्ति रहेको बताए । उनी वारदातको समय पश्चात धेरै समय भारतका विभिन्न स्थानमा लुकीछिपी बस्ने गरेको उनले बताए ।